बलात्कारी बाबा राम रहिमको सत्यता बाहिर ल्याउने पत्रकारलाई गोली हानी हत्या

एजेन्सी, भारतको हरियाणा पंचकुला स्पेशल सिबिआई कोर्टले डेरा सच्चा सौदा नामको संस्थाका प्रमुख गुरमीत सिंह राम रहिमलाई बलात्कार मामलामा दोषी ठहराएको छ । सन् २००२ मा नै पत्रकार रामचन्द्र छत्रपतिले पहिलोपल्ट रहिमको बलात्कार मामलालाई बाहिर ल्याएका थिए ।

रामचन्द्र छत्रपति हरियाणाको सिरसाबाट निस्कने पत्रिका ‘पूरा सच’ का सम्पादक थिए । एक जना साध्वीलाई बलात्कार गरेको समाचार प्रकाशित गरेको केही महिनामै ‘पूरा सच’का सम्पादक छत्रपतिको गोली हानी हत्या गरियो । राम रहीमलाई छत्रपतिको हत्याको आरोपसमेत लाग्ने गरेको छ ।

रामचन्द्र छत्रपतिले वकालत छाडेर सन् २००० देखि ‘पूरा सच’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए । बीबीसीका स्थानीय सम्वाददाता प्रभु दयालका अनुसार छत्रपतिलाई एउटा अज्ञात पत्र प्राप्त भएको थियो । जसमा आश्रममा साध्वीको यौन शोषण गरेको कुरा थियो । छत्रपतिले त्यो अज्ञात पत्र आफ्नो पत्रिकामा छापे । त्यसपछि उनलाई ज्यान मार्ने धम्की आएको थियो ।

छत्रपतिलाई १९ अक्टोबर २००० मा गोली हानियो । २१ अक्टोबरमा दिल्लीको अपोलो अस्पतालमा उनको निधन भयो । प्रभु दयालका अनुसार छत्रपति होशमा त आए तर राजनीतिक दबाबका कारण उनको बयानसमेत लिइएन । पछि उनका छोरा अंशुल छत्रपतिले अदालतमा मुद्दा दायर गरी सिबिआई जाँचको माग गरेका थिए ।

छत्रपतिको परिवार आज पनि उनको हत्याको न्यायिक छानबिनको पर्खाइमा रहेको छ । यो मुद्दा पनि त्यही सिबिआई अदालतमा चलिरहेको छ, जसले राम रहीमलाई बलात्कार मामलामा दोषी ठहरायो । हिन्दुस्तान टाइम्सका अनुसार अक्टोबर २००२ मा छत्रपतिलाई आफ्नै घरमा गोली हानिएको थियो । उनका छोरा अंशुल भन्छन्, ‘म त्यति बेला २१ वर्षको थिएँ । मलाई न्याय माग्न कहाँ जाने थाहा थिएन । प्रहरीले एफआईआरमा आश्रम प्रमुखको नामसमेत सामेल गरेन ।’

राम रहीमको फैसला आएसँगै रामचन्द्र छत्रपतिको विषयमा पनि छानबिन हुनुपर्ने माग सामाजिक सञ्जालमा उठ्न थालेको छ । स्वराज इन्डियाका नेता योगेन्द्र यादबले फेसबुकमा रामचन्द्र छत्रपति एक इमान्दार र साहसी पत्रकार भएको बताए । छत्रपतिसँगको भेटलाई सम्झँदै उनी लेख्छन्, ‘हामीले साध्वीको पत्र छाप्यौँ । त्यसले गर्दा बाबा पागल भएका छन् । पत्र छापेको केही महिनामै गोप्य पत्र बाहिर ल्याएको आशंकामा रंजीत सिंहको हत्या गरियो । यो सुनेर मैले सोधेँ, ‘रामचन्द्रजी तपाईँलाई खतरा छैन ? उनले भने, ‘हो धेरै पल्ट धम्की आएको छ । के हुने हो केही थाहा छैन । तर सबैले कुनै न कुनै दिन त जानु नै छ ।’

योगेन्द्र यादबले छत्रपतिसँग कुरा भएको चारदिनपछि उनलाई गोली हानिएको खबर सुनेको बताए ।

वरिष्ठ पत्रकार रवीश कुमारले पनि फेसबुकमा छत्रपतिको हत्याको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । उनले रामचन्द्र छत्रपति महान पत्रकार भएको बताएका छन् । त्यस्तै कुमारले राजेन्द्र सच्चर, आर एस चीमा, आश्विनी बख्शी तथा लेखराजजस्ता वरिष्ठ वकिलले बिना पैसा छत्रपतिको मुद्दा लडेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.