नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोहोरिएर प्राधिकरणको नेतृत्वमा आउँदा आफूलाई चिन्ता लागेको बताएका छन् ।
मिडिया सगको कुराकानीका क्रममा आगामी दिनमा पहिलो कार्यकालमा गरेकोभन्दा बढी काम गर्नुपर्ने भएकाले आफूले चुनौती महसुस गरेको उनले बताएका छन् । पहिलो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त गरेका उनले आगामी कार्यकालमा जनतालाई त्योभन्दा बढी काम देखाउनुपर्ने दबाब रहेको बताए ।
‘अहिले आउनु भनेको मलाई ठूलो चुनौती हो । म खुसीभन्दा बढी चिन्तित छु, एकदमै,’ शुक्रबार कुराकानीका क्रममा दोस्रो कार्यकालबारे घिसिङले दोहोर्याएर भने, ‘प्राधिकरणको अहिलेको कार्यकालमा म एकदमै चिन्तित छु, मैले जति पहिलो चरणमा काम गरे त्यो लेबलको काम गरेर अझ बढी काम गर्नुपर्नेछ ।’
व्यक्तिगत रूपमा एकपटक राम्रो काम गरेर बाहिरिएको र त्यसको चर्चा पनि राम्रो भएकाले पुनः सोही पदमा आउनुभन्दा बाहिरै बसेको भए राम्रो हुन्थ्यो भन्ने घिसिङले अनुभूति सुनाए । ‘आम जनताको पनि चाहना एकचोटी प्राधिकरणमा बस्नुपर्छ भन्ने चाहना र सरकारको पनि यो जिम्मेवारी लिनुपर्यो भन्ने चाहना भएकोले म यहाँ आएको हो ।’
आफू पूरा कार्यकाल प्राधिकरणमा नै बस्नुपर्छ भन्ने मान्यतामा नरहेको घिसिङले बताए । अन्य ठाउँमा जान प्रस्ताव थियो कि थिएन भन्ने प्रश्नको जवाफमा उनले भने, ‘नेतृत्व र व्यवस्थापनको पक्ष हुन्छ, त्यो सँगसँगै कुनै पनि काममा सफलता पाउन नेतृत्व र व्यवस्थापनसँगै विषय विज्ञता पनि आवश्यक पर्छ । त्यो भयो भने अझ राम्रो हुन्छ । ‘राइट म्यान इन राइट प्लेस’ भन्ने सबैतिर लागू हुनुपर्छ भन्ने हो ।’
‘आन्तरिक व्यवस्थापन बिग्रिएको छ । दूरगामी कार्यक्रमको सिलसिला टुटेको छ । यहाँभित्रको समस्या समाधान गर्न लगायतको आवश्यकता महसुस गरेरै सरकारले जिम्मेवारी दिएको होला,’ उनले भने । कोरोना महामारीका कारणले ऊर्जाका परियोजना निर्माणमा कठिनाइ आइरहेको घिसिङले बताए । यस्तो अवस्थालाई राम्रोसँग परिचालन गर्नु र ट्र्याकमा ल्याउनु चुनौती रहेको उनले बताए ।
प्राधिकरणले आगामी दिनमा विद्युत् खपतका योजना ल्याउने तयारी गरिरहेको घिसिङले जानकारी दिए । विद्युतीय सवारी, खाना पकाउने विद्युतीय साधनको उपभोग गर्ने योजना बनाउने उनले बताए । त्यसका साथै विद्युत् खपतको योजनाबारे उनले भने, ‘घरघरको विद्युतीकरण सकिन लागेको छ, अब खेतखेतको विद्युतीकरण गर्नुपर्नेछ । किनभने खेतमा सिँचाइ गर्नुपर्नेछ । तराईका धेरै खेतहरू सिँचाइ नभएको हुनाले खेती भइरहेका छैन ।’
पछिल्लो समय खेतको विद्युतीकरणको माग बढिरहेको र त्यसमा प्राधिकरणले काम गर्ने उनले बताए । त्यसका साथै विद्युत् निर्यातको काम अगाडि बढ्ने उनको भनाइ थियो । भारत र बंगलादेशमा विद्युत् निर्यातको काममा लाग्ने उनले बताए ।
विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको रूपमा लोडसेडिङ अन्त्य, जर्जर अवस्थामा रहेको प्राधिकरणलाई उकास्ने र आर्थिक रूपमा एकदम कमजोर रहेको प्राधिकरणलाई नाफामा लैजाने काम भएको घिसिङले बताए । पहिलो कार्यकालमा भएका विद्युत् योजनाका काम सम्पन्न दोस्रो कार्यकालमा गर्ने उनले बताए ।
‘तत्कालको मात्रै हेर्ने होइन दीर्घकालीन रूपमा नेपालको ऊर्जा क्षेत्रमा प्रभाव पार्ने किसिमका परियोजना अगाडि बढाउनुपर्छ,’ उनले भने ।