ब्याजदर किन घटबढ हुन्छ ? हेर्नुस नरबहादुर थापाको अन्तरबार्ता

नेपालका करिब ६० प्रतिशत सर्वसाधारण अझै पनि बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउनका लागि मुलुकको केन्द्रीय बैंक राष्ट्र बैंकले विगत केहि बर्षदेखि ‘वित्तीय साक्षरता’ सम्बन्धी बिशेष अभियान नै सञ्चालन गरिरहेको छ । बैंकिङ प्रविधिको वृहत्तर विकास भइसक्दा समेत ग्रामीण भेगका जनतामा आधारभूत बैंकिङ चेतना समेत छैन । यस्तो अवस्थामा बैंकिङ चेतनालाई प्रभावकारी ढंगबाट अघि बढाउन राष्ट्र बैंकले थप कसरत गरिरहेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभागका विभागीय प्रमुख नरबहादुर थापासँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

नेपालमा वित्तीय चेतनाको स्तर कहाँनेर छ ? 
नेपालमा वित्तीय चेतनाको स्थिती एकदमै कमजोर रहेको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विगत ४३ बर्षदेखि वित्तीय पहुँच वृद्धिका लागि गरेको प्रयास पूर्ण रुपमा सफल हुन सकेको छैन । वित्तीय चेतनामा समावेश भएका वयश्क जनसंख्याको अनुपात ४० प्रतिशत मात्रै छ । सहकारी क्षेत्र र अन्य निकायले उपलब्ध गराएको सेवालाई समायोजन गर्ने हो भने यो अनुपात ६१ प्रतिशत हुन्छ । नेपाल राष्ट्र बैंकले नियमन गरेको वित्तीय संस्थाहरुलाई आधार मान्ने हो भने अहिले ४० प्रतिशत वयश्क जनसंख्यामा मात्रै वित्तीय पहुँच पुगेको छ ।

 

वित्तीय चेतना बढाउन कस्ता कार्यक्रमको आवश्यकता देख्नुहुन्छ ? 
वित्तीय चेतनाका लागि दुई वटा कुरा गर्नुपर्ने हुन्छ । एउटा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितीले वित्तीय चेतनामा विस्तार ल्याउँछ । कुनै बैंक एउटा दुर्गम गाउँमा गयो भने, यो के हो ? यसले के काम गर्छ ? भन्ने उत्सुकता सर्वसाधारणमा हुन्छ र त्यो बैंकले उपलब्ध गराउने सेवा उसको उपस्थितिले क्रमशः बढाउने हुन्छ । त्यसैले, सबभन्दा पहिला बैंक तथा वित्तीय संस्थाको उपस्थिती चाहिन्छ, जसले वित्तीय जागरणमा मद्दत पुर्याउँछ ।

 

बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितीले मात्रै पुग्दैन, सर्वसाधारण जनताले वित्तीय सेवाको माग पनि गर्नुपर्छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंकले थुप्रै कर्जाहरु सहुलियत रुपमा व्यवस्था गरेको छ । जस्तो कृषि कर्जा ५ प्रतिशत अनुदानमा दिने व्यवस्था गरिएको छ । तर यसको उपयोगिता भने ज्यादै न्युन छ । सरकारले ५ प्रतिशत व्याज अनुदान दिन्छ, ५ प्रतिशत उनीहरुले त्यसमा जोड्छन् यसमा १० प्रतिशतसम्म सर्वसाधारणले कर्जा पाउँछन् । तर सरकारले अपेक्षा गरेअनुसारको रिजल्ट पाउन सकेको छैन । त्यसकारण वित्तीय चेतना बढाउनु पर्छ, जसले नेपाल सरकार तथा राष्ट्र बैंकले उपलब्ध गराएको सेवा सर्वसाधारणबाट माग होस् । यहि तथ्यलाई दृष्टिगत गरेर राष्ट्र बैंकले आफैँ र मिडिया पार्टनर मार्फत वित्तीय पहुँच विस्तारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । एउटा चाहिँ विद्याथीसँग गभर्नर, विद्यार्थी माझ नेपाल राष्ट्र बैंक लगायतका वित्तीय चेतनाका कार्यक्रमहरु नेपाल राष्ट्र बैंकले गर्दै आइरहेको छ । उपत्यकाबाहिर यो कार्यक्रम लिएर किसान, विद्यार्थी, राजनीतिकर्मी, समाजसेवी माझ नेपाल राष्ट्र बैंक आफैँ र मिडिया पार्टनरको रुपमा उसको सहयोगमा वित्तीय चेतना अभिवृद्धि गर्ने कार्यहरु विगत ६÷७ बर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । विगत दुई÷तिन बर्षदेखि त राष्ट्र बैंकले प्रमुख जोड दिएको बिषय नै यहि हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.