घुस लिँदा लिँदै पक्राउ

बाजुरा:  घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यलय बाजुरामा कार्यरत कर्मचारी कोपिलराज गिरि पक्राउ परेका छन् । घुस दिने दलित एवं हलिया अगुवा गोरख सार्की पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जगदिश भट्टले बताए ।

 

मालपोत कार्यालय बाजुरामा कार्यरत सबओभरसियर कोपिलराज गिरी र घुस दिने हिमाली गाँउपालिका– ६ का गोरख सार्की पक्राउ परेका हुन् । हलियाबाट उठाएको ८० हजार रकम मार्तडीमा रहेको पूजा होटलबाट लिँदै गर्दा दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

४० हजार मुक्तहलिया परिवारबाट हलिया पुनःस्थापनावापतको रकम प्रतिपरिवार २ हजारका दरले संकलन गरेको ८० हजार दिँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । हलिया परिवारबाट पहिला नै ५ हजारका दरले मागेको थियो ।

 

त्योबेला १ हजारका दरले ४० परिवारबाट ८० हजार दिएको गोरख सार्कीले बताए । घुस लिँदै गर्दा पक्राउ परेका गोरख सार्कीले भने, “पटक–पटक मालपोत हाकिम हिरालाल गिरीले भेट र फोनमार्फत पैसा उठान लगाएको र हाकिमले नै पैसा माग्न भतिज पठाएको गोरख सार्कीले बताए ।

 

प्रहरीले घुस लिँदै गर्दा पक्राउ गरेपछि अन्य सबै हलिया परिवारबाट ५ प्रतिशतका दरले मालपोत कार्यलयको निर्देशनमा पैसा उठान लगाएको खुल्न आएको छ । अन्य समुदायबाट पनि ५ प्रतिशतसम्म प्राविधिकले रकम लिएको हलिया समुदायले बताएका छन् । हिमाली गाउँपालिका ६ बस्ने गोरख चदारा, अङ्ग सार्की र आइत सार्कीबाट ५ हजारका दरले मालपोत कार्यलयका कर्मचारीले घुस लिएको अधिकारकर्मीलाई समेत जानकारी गराइसकेको गोरख चदाराले बताए ।

 

नेपाल सरकारले बाजुराका मुक्त हलिया पुनःस्थापनाका लागि हलिया समुदायलाई आव ०७३/७४ मा अनुदान दिएको थियो । भूमिसुधार मन्त्रालयअन्तर्गत जिल्ला मालपोत कार्यालयले मुक्त हलिया परिवारलाई घर निर्माण, जग्गा दरिद र घर मर्मतका लागि ६ करोड ४५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको थियो ।

जिल्लाको पूर्वोउत्तर भेगमा बसोबास गर्दै आएका क वर्गका २० जना मुक्तहलिया परिवारको घर निर्माणका लागि प्रतिपरिवार ३ लाख २५ हजार आएको छ । त्यस्तै क वर्गका २० जना परिवारलाई जग्गा खरिदका लागि प्रतिपरिवार २ लाखका दरले बजेट विनियोजन भएको छ ।  अन्य घ वर्गका ४३२ मुक्तहलिया परिवारको घर मर्मतका लागि ५ करोड ४० लाख आएको छ ।

 

घर मर्मतका लागि एक परिवारलाई १ लाख ५० हजारसम्म दिने गरी बजेट आएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ । दलित अधिकारकर्मीका अनुसार मालपोत कार्यालयले ६ करोड ४५ लाखको ५ प्रतिशतका दरले रकम लिएको बताएका छन् ।

 

हलिया पुनःस्थापना कार्यलदलका संयोजक तथा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घुस लिँदा लिँदै पक्राउ गरेको घटनाको छानबिन गर्ने बताएका छन् । मालपोत कार्यालय प्रमुख गिरि हलिया पुनःस्थापना कार्यदलका सदस्य सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.