बैंकलाई किन विश्वास गरिन्छ ?, सहकारीलाई किन गरिँदैन ?

पूर्वाधारको अभाव, सुरक्षाको कमी लगायतका विभिन्न कारणवश बैंकहरु पुग्न नसकेको ठाउँमा पनि जनताहरु वित्तीय कारोबार गर्नबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले गाउँ गाउँमा सहकारी, घरघरमा भकारी भन्ने नारासहित हरेक समुदायमा सहकारीको उपस्थिती गराइएको छ । सहकारीहरुले मानिसलाई एउटै समुहमा आवद्ध गराएर हरेक महिना रकम जम्मा गराएर समुहभित्रकै सदस्यका लागि आवश्यक पर्दा खर्च गर्न सक्ने सुविधा प्रदान गर्दछ । सहकारीले जनतालाई थोरै थोरै रकम जोडेर धेरै बनाई एउटा निश्चित उद्यममा लगाउन प्रेरित गर्दछ । यस्तो ससानो पुँजी संकलन गर्नका लागि बैंकहरु हरेक समुदायमा पुग्न नसक्ने भएकाले त्यस्ता ठाउँहरुमा सहकारीहरु स्थापना भएका छन् । तर, मानिसहरुले भने बैंक र सहकारीलाई तुलना गर्दै सहकारीलाई अविश्वास र बैंकलाई विश्वास गर्ने गरेका छन् ।

सहकारीमा बढ्दो ठगी
एकातिर सहकारीले थुप्रै मानिसलाई आत्मनिर्भर गर्न सहयोग पुर्याएको छ भने अर्कोतिर यो क्षेत्रका ठगीका घटनाहरु पनि बढेका छन् । सर्वसाधारणले ससानो पुँजी जम्मा गरी भरोसा गरेर बचत गरेको रकम लिएर सहकारीको मालिक नै गायब भएका घटनाहरुले सर्वसाधारणलाई त्रासमय बनाएको छ । उनीहरुले सहकारीमा राख्नुभन्दा बरु व्याजमा लगाउन तथा सिरानीमुनि राख्न नै सुरक्षित हुने महशूस गर्न थालेका छन् । आफूले् खाईनखाई जोडेको पैसा अर्कैले खाइदेला भन्ने पीरले मानिसहरु सहकारीमा पैसा राख्न हिच्किाउन थालेका छन् । सबै सहकारीहरु यस्ता नभएपछि केही सहकारीको कारण समग्र सहकारी क्षेत्र नै ठगहरुको रुपमा बदनाम भएका छन् । बैंकहरुको केशमा भने यस्ता खाले घटनाहरु कमै सुनिन्छन् । त्यसमाथि, सहकारीहरुको जस्तो करोडौँको मात्र नभएर बैंकहरुले खरबौँको कारोबार सम्हाल्ने हुँदा यत्तिको रकम खाएर भाग्नु असम्भव जस्तै देखिन्छ । त्यसैले पनि बैंकहरुप्रति सर्वसाधारणको विश्वास बढि छ ।

कमजोर नियमन
पछिल्लो समय बैंकहरु तगडा बनेर आइरहेका छन् । बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर होस् वा चुक्तापुँजी वृद्धि गराएर बैंकहरुलाईै सबल बनाएको छ । जसले गर्दा बैंकहरुतर्फ सर्वसाधारणको भरोसा बढ्दै गइरहेको छ । यता, सहकारी संस्थाहरुको नियमन भने कमजोर हुँदै गइरहेको छ । समयसापेक्ष ऐन बन्न नसक्दा सहकारी क्षेत्रमा मनपरीतन्त्र चलिरहेको छ । न त राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन छ न त गल तगर्ने लाई कारबाही नै । यसरी खुला छोडिएका कारण नै सहकारी संस्थाहरुले सर्वसाधारणको विश्वास जित्न नसकेको देखिन्छ ।

 

सुपरीवेक्षणको अभाव
राष्ट्र बैंकले समयसमयमा बैंकहरुको सुपरीवेक्षण गर्ने, हरेक वर्ष मौद्रिक नीति जारी गरेर नयाँ र समयसापेक्ष व्यवस्थाहरु गर्ने, व्याजदर लगायतका कुरामा निश्चित मापदण्ड तोक्ने, बैंकिङ क्षेत्रमा भएका समस्याहरु जस्तै तरलता लगायतका समस्या समाधानका लागि तत्काल लागीपर्ने लगायतका कामहरु गर्दै आइरहेको छ । यता, सहकारीहरुको हकमा भने कुनै मापदण्ड छैन । समयको मागअनुसार चल्न नसकेका कारण पनि सहकारीहरु अविश्वासको शिकार बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.