बौद्धदर्शन र मगरको सम्बन्ध

काठमाडौँ, १० साउन । लेखक डा मीन श्रीष मगरले लेख्नुभएको ‘बुद्ध, बौद्धदर्शन, बौद्ध सम्पदा र मगर जातिका संस्कार विधि’ नामक कृति बजारमा आएको छ ।

दुई खण्ड रहेको उक्त पुस्तकमा पहिलो खण्डमा बुद्ध, बौद्धदर्शन र बौद्ध सम्पदाबारे तथा दोस्रो खण्डमा मगर जातिका संस्कार विधिबारेमा उल्लेख छ । देशभर फैलिएको सो जातिको थोरै जनसंख्याले बौद्ध दर्शनमा आधारित रही संस्कार गर्ने गरेको बताइएको छ । विशेषगरी डोल्पाली मगर तिब्बती लामावादी बौद्ध धर्मबाट प्रभावित रहेको प्रसंग कृतिमा ल्याइएको छ ।

बौद्ध धर्मको महायान सम्प्रदायमा मूल देवताका रुपमा मानिने आदि र अन्त्य नभएका आदिबुद्धको अंशका रुपमा पञ्च ध्यानी बुद्धको अवधारणाबारे कृतिमा प्रष्ट पारिएको छ । अमोघसिद्धि, रत्नसम्भव, वैरोचन, अक्षोभ्य र अमिताभ नै ध्यानी पाँच बुद्ध मानिन्छन् । ध्यानी बुद्धका रङ, मुद्रा, प्रतीक बाहनसमेत उल्लेख गरिएको कृतिमा उनीहरुको शक्तिका रुपमा पञ्चतारालाई लिइएको छ । पाँचतारामा हरिततारा, मामकी, वज्रधात्वीश्वरी, लोचन र पाण्डुराको भूमिका बौद्ध साहित्यको विकासमा पाइएको छ ।

मानव जातिलाई बुद्धको सत्य मार्गमा डो¥याउनका लागि पञ्च ध्यानी बुद्ध र पञ्च ताराको जोडीबाट पञ्च बोधिसत्वको उत्पत्ति भएको मानिन्छ । बोधिसत्वको अर्थ ज्ञानको सार हो, यिनीहरु संसार र मृत्यु (निर्वाण) को बीचमा रहन्छन् । वैरोचनबाट समन्तभद्र, अक्षोभ्यबाट वज्रपाणि, अमिताभबाट पद्मपाणि, अमोघसिद्धिबाट विश्वपाणि र रत्नसम्भवबाट रत्नपाणि बोधिसत्व उत्पन्न भएको जनाइएको छ ।

बौद्धमार्गीले नालन्दा, विक्रमशिला, उद्दण्डपुर र तक्षशिलालाई विश्व विद्यालयमा परिणत गरेका प्रसंग पाइने कृतिमा क्रकुच्छन्द, कनकमुनि, कश्यप, शाक्मुनि र मैत्रेय बुद्धलाई मानव बुद्धका रुपमा सम्मान गरिने सन्दर्भलाई कृतिमा समेटिएको छ । यी मानवबुद्धले तत्कालीन समाजका विकृतिविरुद्ध सङ्घर्ष गरी समाज सुधारमा ठूलो भूमिका निर्वाह गरेको इतिहास पाइन्छ । क्रकुच्छन्द र क्रकुच्छन्द बुद्धलाई नेपालमा जन्म लिएका सिद्ध पुरुषका रुपमा लिइन्छ ।

बौद्ध धर्मावलम्बीले बुद्धको जन्मस्थान लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको स्थान बोधगया, बुद्धत्व हासिल गरेपछि पहिलो पटक ज्ञानको प्रवाह ( धर्मचक्र प्रवर्तन) गरेको स्थान सारनाथ र मुक्ति प्राप्त (महापरिनिर्वाण) गरेको स्थान कुशीनगरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गरिएको पुस्तकको अध्ययनबाट ज्ञान पाइन्छ ।

बुद्धले विकास गरेको दर्शन तत्कालीन समाजमा देखिएका अतिवादी दृष्टिकोण तथा धार्मिक चिन्तनका विरुद्ध लक्षित भएकाले यसलाई सुधारवादी धर्मका रुपमा लिइएको छ । ईश्वर र मूर्ति पूजा, जीव ंिहंसा र कर्मकाण्डको विरोध, भिक्षुभिक्षुणीको अवधारणाको विकास (सम्पत्ति सञ्चय नगर्ने, मागेर एक छाक खाने), वर्ण र जातपातमा विश्वास नगर्नु नै बौद्ध दर्शनको महत्वपूर्ण विशेषताका रुपमा लिइएको छ ।

मानिसलाई शान्त र शून्यताको चिन्तनमा विकास गराउन चैत्यमा पूजा गर्ने अवधारणा ल्याइएका कारण जीवन तथा जगत्लाई हेर्ने दृष्टिकोणमा सकारात्मक भाव विकास गर्न बौद्ध दर्शनको महत्व पाइन्छ । कृतिमा बौद्ध धर्मका विभिन्न सम्प्रदायमध्ये हीनयान, महायान, वज्रयान तथा लामावादी बौद्ध धर्म अभ्यासबारे पर्याप्त जानकारी गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.