नेपालको ब्यापार घाटा र यसलाई कम गर्न बैंक तथा वित्तीय सस्थांको भुमिका

सुबोध पोखरेल । ब्यापार भनेको धन आर्जन गर्नका लागि बस्तु तथा सेवाको विनिमय हो । मानव सभ्यताको विकासको सुरुवातसंगै ब्यापारको पनि विकास भएको मानिन्छ । सभ्यताको सुरुमा मुद्राको प्रयोग आएको थिएन अथवा वस्तुसँग वस्तु साट्ने गरिन्थ्यो । पछि मुद्राको सुरुवातसँगै ब्यापारमा ब्यापक विकास भयो अथवा ब्यापार देशमा मात्र सिमित नरहि विदेशमा पनि हुन थाल्यो । विज्ञान र प्रविधिको विकासले ब्यापारमा अत्याधिक परिवार्तन ल्याइदियो । विभिन्न देशहरु बीच आयात र निर्यात हुन थाल्यो ।

 

अन्तर्राष्ट्रिय व्यापार
हाल विश्वका सबै राष्ट्र अन्तराष्ट्रिय ब्यापारसँग कुनै न कुनै रुपमा सम्बन्धित भएका छन्, जसमा नेपालको कदम पनि एक मान्न सकिन्छ । हरेक देशको उत्पादन, उत्पादन परिमाण, उत्पादन प्रविधिले गर्दा अन्तराष्ट्रिय ब्यापारका विविध स्वरुप तयार भएका छन् । अन्तराष्ट्रिय ब्यापारमा दुई वा दुईभन्दा बढी देशहरु संलग्न हुन्छन् । दुवै देश एक आपसमा आयात निर्यातमा वा आयात मात्र वा निर्यात मात्र संलग्न हुन सक्दछन् । तर हाम्रो देश नेपाल भने बढी आयात गर्ने समस्यामा गुज्रिरहेको छ । हरेक देशहरु मुलतः निर्यात बढाउने तथा आयात घटाउने उद्देश्यले प्रेरित भएका हुन्छन् । यसले गर्दा कहिलेकाहि अवमूल्यनको होडवाजी समेत चल्दछ ।

 

व्यापार घाटा
जब आयात भन्दा निर्यात बढि हुन्छ त्यस्तो अवस्थामा व्यापारमा नाफा देखिन्छ अथवा निर्यातभन्दा आयात बढी भएमा ब्यापारमा घाटाको अवस्था देखा पर्दछ । व्यापार नाफाले देशलाई समृद्वि तिर धकेल्छ भने ब्यापार घाटाले देशलाई नकारात्मक दिशातर्फ मात्र उन्मुख गराउँछ । सोही समस्या अहिले हामीले भोगीरहेका छौ ।

 

ब्यापार घाटालाई अर्को शब्दमा ब्यापार असन्तुलन पनि भनिन्छ । जब राष्ट्रमा आफूलाई आवश्यक पर्ने वस्तु तथा सेवाको उत्पादन हँुदैन तव ती आवश्यकताका बस्तु परिपूर्ति गर्नको लागि हामी आयातमा जोड दिन्छाँै, अनि उत्पादन गर्न कुनै चेष्टा गर्दैनौँ । यसले हाम्रो देशको मुद्रा बाहिरिएर पुरै राष्ट्रलाई असर पार्दछ । देशमा विद्यमान रहेका आम हडताल, नाकाबन्दीले त झन् झन् ब्यापार घाटा तिव्र गतिमा बढाइरहेको छ ।

 

अर्थतन्त्रमा प्रभाव
बस्तु उत्पादन र बजारको सहि परिचालन हुन नसक्नु जस्ता विभिन्न कारणबाट पनि ब्यापार घाटा सृजना भइरहेको पाईन्छ । भर्खरै सार्वजानिक चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले नेपालको आर्थिक वृद्दिदर विगतका वर्षहरुमाभन्दा उच्च दरले वृद्धि भई ६.९४ प्रतिशत पुगेको प्रक्षेपण गरिएको छ । यो मुलुकको अर्थतन्त्रका लागि खुसिको कुरा भएपनि उच्च बैदेशिक ब्यापार घाटाले उक्त खुसिलाई तुसारापात गर्ने देखिन्छ । अर्थतन्त्रको बृद्दिका लागि तुसारापात हुन सक्ने उक्त ब्यापार घाटा प्रतिवर्ष घट्नुको साटो उकालो लागिरहेको छ । यसलाई निर्मूल गर्न नेपालका बैंक तथा वित्तीय संस्थाले निम्नानुसारको गहन भुमिका निर्वाह गर्नु अपरिहार्य रहन्छ :

  • बैंक तथा वित्तीय सस्थांहरुले उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बढाइ सुपरिवेक्षण गर्ने कार्यतर्फ तादारुकताका साथ लाग्नुपर्ने देखिन्छ ।
  • बैक तथा वित्तीय संस्थाहरुले उत्पादनशील क्षेत्रमा क्रियाशील उद्यमीलाई कर्जामा सहुलियत प्रदान गरिनुपर्दछ ।
  • उत्पादनशील क्षेत्रमा क्रियाशील उद्यमीलाई बैंक तथा वित्तीय सस्थांहरुले अधिविकर्षको सुविधाको कार्यक्रमलाई बढावा गर्नु पर्दछ ।
  • स्थानीय उत्पादनलाई प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गर्ने ।
  • अन्तराष्ट्रिय बजारमा देशमा उत्पादित वस्तु प्रचार तथा प्रवद्र्दनका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिने ।
  • निर्यातजन्य वस्तुमा अनुदान तथा प्रोत्साहन प्रदान गर्न भुमिका खेल्ने ।
  • अन्तरबैंकिङ कार्यक्रम र विभिन्न मन्त्रालयसँग समन्वय कायम गर्ने ।
  • विप्रेषण आयलाई विभिन्न आयमुलक तथा उत्पादनमुलक क्रियाकलापमा खर्च गर्ने भनि हेल्प डेक्सको प्रयोग गर्ने ।

अतः नेपालको ब्यापार घाटा डरलाग्दो स्थितिमा गुज्रिरहेको छ । अहिले निर्यात आयात अनुपात १०ः१३ नाघेको छ । यसलाई रोक्न सकिएन भने ५ वर्षमा बढेर १०ः२० हुने अनुमान गर्न सकिन्छ । यस्तो अवस्थाले मुलुकको अर्थतन्त्रलाई दुर्घटनामा लैजाने भएकोले ब्यापार घाटा न्यूनिकरणमा राज्य संयन्त्र र निजी क्षेत्रले ध्यान दिनु आवश्यक रहन्छ । आयातित वस्तुको मुल्य बृद्वि भन्दा स्वदेशमा उत्पादित वस्तुको मुल्य अभिवृद्धि गर्दा फाइदा दिगो हुने देखिन्छ । राज्य तथा अन्य निकायको नीति, नियमले पनि आयात प्रतिस्थापन उद्योगलाई वास्तविक रुपमा प्रोत्साहन दिनुपर्ने हुन्छ । बैंक तथा वित्तीय क्षेत्रको लगानीलाई ब्यापारिक क्षेत्रभन्दा उत्पादनशिल क्षेत्रमा केन्द्रित गर्नुपर्छ । अनि मात्र ब्यापार घाटालाई आधारभूत रुपमा सम्बोधन गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.