बैंक खुलेपछि विकासको गति सुरु, गाउँमा बढ्दैछ लगानी

आरपी पौडेल/ धमाधम बैंकहरुको शाखा खुल्न थालेपछि ग्रामिण भेगहरु पनि विकसित हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई बेलाबेलामा निर्देशन दिने गरेको भएपनि बैंकहरुले ग्रामीण भेगमा गरेको लगानी सुरक्षित नहुने भन्दै सो निर्देशन मानिरहेका थिएनन् । तर, पछिल्लो समय भने ग्रामीण भेगमा लगानी लगानी विस्तार भइरहेको छ ।

 

लघुवित्त वित्तीय संस्थाको योगदान
यसरी ग्रामीण भेगमा लगानी विस्तार हुनुमा लघुवित्त बैंकहरुको सबैभन्दा ठूलो योगदान रहेको छ । विशेषतः ग्रामीण तथा दुर्गम भेगका वासिन्दा तथा विपन्न वर्गसम्म बैंकिङ पहुँच विस्तार गर्नकै लागि लघुवित्त संस्थाहरु खोलिएका हुन्छन् । लघुवित्त संस्थाले नेपाल राष्ट्र बैंकबाट प्राप्त सहुलियत कर्जा र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई बिनाधितो ग्रामीण क्षेत्रमा लगानी गर्दछन् । अन्य बैंकहरुले पनि लघुवित्त बैंकमार्फत ग्रामीण भेगमा लगानी गर्ने गरेका छन् । कतिपय वाणिज्य बैंकहरुले आफ्नै लघुवित्त बैंकको स्थापना गरी ग्रामीण भेगमा पुँजी परिचालन गर्ने गरेका छन् । यसले गर्दा ग्रामीण भेगका मानिसहरु लघुवित्त बैंकबाट ऋण लिएर कुनै न कुनै व्यावसायिक उद्यममा लाग्न प्रेरित भएका छन् ।

 

लघुवित्त संस्थाहरूले सार्वजनिक निक्षेप संकलन गर्न पाउँदैनन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सदस्यहरूबाट जम्मा भएको निक्षेप तथा आफ्नो पुँजीबाट यिनीहरूले कर्जा प्रवाह गर्छन् । नेपाल राष्ट्र बैंकले दिने सापट सहुलियतको हुन्छ । लघुवित्त संस्थाले दुर्गममा शाखा खोेलेमा ३० लाख रुपैयाँसम्म बिनाव्याज प्राप्त गर्ने प्रावधान रहेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटको व्याज तिर्नुपर्ने हुन्छ । लघुवित्त संस्थाले वाणिज्य बैंकबाट ४ देखि ६ प्रतिशत र विकास बैंकबाट ४ देखि ७ प्रतिशतसम्मको व्याजदरमा यस्तो कर्जा लिने गरेका छन् । यस्ता संस्थाले बैंक तथा वित्तीय संस्थालाई तिर्ने ब्याज र सर्वसाधारणबाट लिने ब्याजको अन्तरबाट नै नाफा कमाउँछन् । हाल लघुवित्तले कर्जामा १८ देखि २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।

 

राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्र तथा विपन्न वर्गमा अनिवार्य रुपमा नै लगानी गर्नुपर्ने निर्देशन दिएपछि लघुवित्त मात्र नभएर ठूला विकास बैंकहरु पनि गाउँगाउँमा शाखा विस्तार गर्नतर्फ लागीपरेका छन् । शाखा पुर्याउन असम्भव भएका ठाउँमा शाखारहित बैंकिङ सेवा दिएर भएपछि बैंकहरुले ग्रामीण भेगका जनतालाई बैंकिङ कारोबारसँग जोडिरहेका छन् । मुलुक संघीय संरचनामा गएपछि झन् सबै स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुर्याउने गृहकार्य भइरहेको छ । बैंक शाखा नपुगेका स्थानीय तहमा जान बैंकहरुले सहमति गरी सोअनुसार कदम पनि चालिसकेका छन् । यसबाहेक, कृषि, जलविद्युत्, पर्यटन जस्ता उत्पादनमूलक क्षेत्रमा २५ प्रतिशत लगानी गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यो व्यवस्थाले पनि ग्रामीण भेगमा बैंकिङ लगानीको मात्रा बढाउन मद्दत पुर्याइरहेको छ । त्यस्तै, सहरी भेगमा मात्र बैंक संचालनमा आउने प्रवृत्तिलाई कम गर्न राष्ट्र बैंकले ग्रमीण भेगमा जाने लघुवित्तलाई प्रोत्साहन गर्ने र सहरका लागि लाइसेन्स नदिने व्यवस्था गरेको छ । ग्रामीण भेगमा शाखा खोल्ने बैंकहरुलाई पनि प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएपछि ग्रामीण भेगहरुले बैंकिङ लगानीबाट समृद्ध बन्ने अवसर पाउन थालेका छन् ।

 

बैंकबाट ऋण लिएर उद्यममा लाग्नेको संख्या बढ्यो
बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर उद्यममा लाग्नेको संख्या पनि बढ्न थालेको छ । ग्रामीण भेगमा पशुपालन, व्यावसायिक कृषि तथा घरेलु उद्योगका लागि लघुवित्त बैंकबाट ऋण लिने गरेको पाइन्छ । विशेषतः महिलाहरुले समूहगत रुपमा लघुवित्तबाट ऋण लिने गरेका छन् । लघुवित्त बैंकबाट ऋण लिएर सफल उद्यमी बनेका थुप्रै उदाहरणहरु ग्रामीण भेगमा देख्न पाइन्छ । लघुउद्यम गर्नका लागि ठूला बैंकहरुले पनि कर्जा प्रवाह गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.