सहकारीले नयाँ टेक्नोलोजी सुरु गर्नुपर्ने

काठमाडौं, ४ भदौ ।   अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड मेम्बर आदित्य यादवले सहकारीमा नयाँ प्रविधि भित्र्याउन आवश्यक भएको बताउनुभएको छ ।
‘सहकारीमा युवा सहभागिता’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै आदित्यले  सहकारीले नयाँ टेक्नोलोजी र इ–कमर्श अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारी अनुभवी व्यक्तिसँगै युवालाई पनि नीति निर्माण तहमा स्थान दिनुपर्ने उहाँको भनाई थियो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नीजि क्षेत्रसँग प्रतिस्पर्धामा उत्रिनका लागि दिनदिनै आइरहेको नयाँ प्रविधिलाई सहकारीले अलम्बन गर्नुपर्ने उहाँको भनाई थियो ।
राष्ट्रिय सहकारी संघ लि नेपाल,राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिको संयुक्त आयोजनामा कार्यशाला गोष्ठी आयोजना भएको हो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघ लि नेपालका अध्यक्ष एवम् सांसद केशव प्रसाद बडालले सहकारीमा युवा सहभागिता अवस्था र सहकारीले हासिल गरेकोे उपलब्धिकाबारेमा प्रकाश पार्नुभएको थियो।
 कार्यक्रममा राष्ट्रिय सहकारी संघ लि नेपालका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा सांसद ओमदेवी मल्लको उपस्थिति थियो ।  कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिका प्रबन्ध संचालक केवी उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय सहकारी संघ लिका संचालक तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिका अध्यक्ष सुरेन्द्र भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।संघका संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिका अध्यक्ष खेम पाठकले सहकारीमा युवा सहभागिताको महत्वबारे प्रष्ट पार्नुभयो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव प्रसन्न कोइरालाले युवा सहभागिताको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषाका कार्यकारी निर्देशक विष्णु प्रसाद गौतमले सहकारीमा नेपाली युवाको सहभागिताको विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी इफ्कोका नायव महाप्रबन्धक तरुण भारगावले युवा सहभागिताको विषयको कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.