जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे…

श्रावण २३, २०७४- सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए । दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरूले उनलाई आफूजस्तै सेवाग्राही ठाने । ती व्यक्तिले सेवाग्राहीसँग ‘लाइसेन्स लिन कति गाह्रो है, तपाईंको मिलाएको हो ?’ भनी एक/दुई जनासँग संवाद पनि गरे । त्यसरी लाइनमा बसेर सेवाग्राहीसँग संवाद गर्ने ती व्यक्ति यातायातमन्त्री वीरबहादुर बलायर थिए ।

मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको कान्तिपुरलाई बताए । ‘म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दु:ख देखेर चिन्तित भएँ,’ उनले कान्तिपुरसँग भने ।

सुरुमा सादा पोसाकमा गएको प्रहरीको टोलीले कार्यालयअघि भेटिएका दलालसित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गरे । दलालले पनि ग्राहक ठानेर ‘अहिले गाह्रो छ तर मिलाउन परे सकिने’ भन्दै सम्पर्कमा बस्न अह्राए । तर, प्रहरीसहित मन्त्रीले अनुगमन गरेको थाहा पाएपछि दलालको भागभाग भएको थियो । बारम्बार सर्भर डाउन हुने र दलालको बिगबिगी बढ्न थालेपछि आफू निरीक्षणमा आएको मन्त्री बलायरले बताए । ‘यातायात कार्यालय वरिपरि बस्ने दलाललाई हटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छु,’ उनले भने, ‘कार्यालयमा जनशक्ति अभावले पनि समस्या भएको देखिन्छ ।’ उनले सरकारी निकायबीच समन्वय नहुँदा भद्रगोल बनेको बताए । ‘दक्ष कर्मचारी व्यवस्थापनको पहल गर्छु,’ उनले भने ।

मन्त्री बलायरले आइतबार मोटरसाइकलको लाइसेन्सको काम हुने र सानाठूला सवारीको काम हुने दुवै यातायात कार्यालयमा निरीक्षण गरेका थिए । यातायात कार्यालयको सवारी अनुमतिपत्र फाँटबारे जानकार एक सरकारी कर्मचारीले अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । ‘सवारी चालक अनुमतिपत्र बनाउने क्रममा दलाल र केही कर्मचारीको मिलेमतोमा काम हुने गरेको छ,’ उनले भने, ‘यस्तो कार्यमा राजधानीका केही ड्राइभिङ सेन्टरका सञ्चालकहरूसमेत संलग्न छन् ।’

अनुगमनका क्रममा कार्यालयमा चलखेल कम गर्न सीसीटीभी राखे पनि निष्क्रिय पारिएको भेटियो । कार्यालयमा ८ सीसीटीभी छन् । यस्तै १० रुपैयाँमा पाउने एउटा दर्ता फारामको दलालले ३०, लिखित परीक्षाको नतिजा जानकारी गराइदिने भन्दै ३०, लिखित परीक्षामा आउने प्रश्नावली भन्दै केही प्रश्न दिएर ५ सयदेखि हजारसम्म लिने गरेको पाइएको छ ।

सेवाग्राहीले मन्त्री बलायरलाई कार्यालयको स्मार्ट कार्ड सिस्टममा पटकपटक खराबी आउने गरे पनि समस्या समाधानमा चासो नदिएको भन्दै गुनासो गरेका थिए । स्मार्ट कार्ड स्टिम बनाउने ठेक्का भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले पाएको थियो । पटक–पटक समस्या आएपछि समाधान गर्न भने सकेको छैन । मन्त्री बलायरले सर्भर डाउन हुनुको कारण पहिचान भइसकेको बताउदै चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए ।
उनले बिग्रेको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्न दुबईबाट प्राविधिक बोलाइसकिएको जनाए । ‘स्मार्ट कार्ड सकिएको छ,’ उनले भने, ‘झन्डै नयाँ कार्ड आजभोलि नै आइपुग्छ ।’ उनले साढे ७ लाख स्मार्ट कार्डका लागि नयाँ टेन्डर आहवानको तयारी भइरहेको जनाए । ‘आगामी वर्षको टेन्डर पनि अहिले नै गर्छौं,’ उनले भने, ‘कार्ड छाप्न ४ मेसिन थप गर्ने योजना छ ।’

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.