राज्यको पूरै ध्यान २ नं. प्रदेशको चुनावमा, यस्तो छ दलहरूको तयारी

नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत पूरै राज्यशक्तिको ध्यान अहिले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।

 

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १ सय ३६ स्थानीय तहमा असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं. २ का ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह कायम भएका छन् ।

 

मुलुकमा कायम ७ सय ५३ स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका रहेका छन् ।

 

२ नं. प्रदेशकाे निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

 

६ हजार ६ सय २७ जनप्रतिनिधि छानिँदै

स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ७७–७७ प्रमुख र उपप्रमुख, ५९–५९ अध्यक्ष र उपाध्यक्ष, १ हजार २ सय ७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी ५ हजार ८४ वडा सदस्य निर्वाचित हुनेछन् ।

 

निर्वाचनको परिणाम हात पार्न अहिले राजनीतिक दलहरू चुनावी रणनीतिमा अत्यन्तै व्यस्त भएका छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा त्यस क्षेत्रका जिल्लामा भदौ ७ देखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ भने सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ ।

 

मनोनयन दर्ता भदौ २१ मा

निर्वाचनका लागि आयोगले भदौ २१ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ मा उम्मेदवारलाई चुनावचिह्न प्रदान गर्ने कार्यक्रम छ ।

 

नेपालको संविधानका केही अन्तर्वस्तुप्रति विमति जनाएर आन्दोलन चलाउँदै आएको राष्ट्रिय जनता पार्टीले पनि आफ्नो सम्पूर्ण साधन–स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।

 

निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं. २ मा पनि प्रमुख राजनीति दलबीच चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ । संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी तथा बाढी र डुबानको चपेटा खेपिरहेका त्यस क्षेत्रका मतदातालाई आफ्नो पक्षमा ल्याउने रणनीति बनाएर सबै राजनीतिक दल अहिले प्रदेश नं. २ का गाउँगाउँमा पुगिसकेका छन् ।

 

प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा वैशाख ३१ तथा प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा असार १४ मा भएको निर्वाचनबाट १ सय ७५ स्वतन्त्र सहित १४ राजनीतिक दलका २८ हजार ४ सय २३ उम्मेदवार विजयी भएका थिए । तीमध्ये पुरुष १६ हजार ७ सय ९३ र महिला ११ हजार ६ सय ३० रहेको आयोगले जनाएको छ ।

 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेपाली नेकपा (एमाले) का १२ हजार ८ सय ४८, नेपाली कांग्रेसका ९ हजार ७ सय १९, नेकपा (माओवादी केन्द्र) का ४ हजार ३ सय १३, संघीय समाजवादी फोरम नेपालका ३ सय ८२, नेपाल लोकतान्त्रिक फोरमका २ सय ९५, राप्रपाका २ सय ५७, राष्ट्रिय जनमोर्चाका १ सय ८६, नेपाल मजदुर किसान पार्टीका ९९, नयाँ शक्ति पार्टीका ८८, बहुजन शक्ति पार्टीका ३७, राष्ट्रिय जनमुक्ति पार्टीका १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ७, नेकपा (माले) का ४ र नेपाल परिवार दलका १ उम्मेदवार विजयी भएका थिए ।

 

बदर मत प्रतिशत घटाउन २ नं. प्रदेशमा सडकनाटक सहित मतदाता शिक्षाका कार्यक्रम तथा सञ्चारकर्मीका लागि आचारसंहिताको पालनासम्बन्धी कार्यक्रम सुरु गरिसकिएको जानकारी निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले दिएका छन् ।

 

‘भय र त्रास समाप्त’: यस्तो छ दलहरूको तयारी

भय र त्रासको स्थिति समाप्त भएकाले शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा २ नं. प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले निकै स्थानमा राम्रो विजय हासिल गर्ने विश्वास लिइएको राजपाका महासचिव केशव झाले बताए । उनले भने– “प्रचारप्रसार र उम्मेदवार छनोट प्रक्रिया सुरु भइसकेको छ, घोषणापत्र बनाउने कार्य तीव्र तुल्याइएको छ ।”

 

पार्टीको सम्पूर्ण शक्ति प्रदेश नं. २ को निर्वाचनमा केन्द्रित भइसकेको जानकारी एमालेका उपाध्यक्ष वामदेव गौतमले दिएएका छन् । उनले भने– “नेकपा (एमाले) ले लिएको अडान र अघि सारेको सोचलाई आम मतदाताले राम्ररी बुझिसकेका छन् ।”

 

२ नं. प्रदेशको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै तयारी पूरा भएको तथा अधिकांश जिल्लामा उम्मेदवारी मिलेको हुँदा घोषणा गर्न मात्र बाँकी रहेको प्रतिक्रिया कांग्रेस नेता रमेश लेखकले दिए । उनले भने– “पार्टीको पक्षमा राम्रो वातावरण बनेको छ, विस्तारै सबै नेता तथा कार्यकर्ता त्यस क्षेत्रममा पुगेपछि चुनाव प्रचारप्रसार व्यापक हुनेछ ।”

 

निर्वाचनका लागि आवश्यक जनशक्तिको व्यवस्था मिलाइएको जनाउँदै माओवादी केन्द्रका नेता एवं सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले त्यस क्षेत्रमा निर्वाचनका लागि प्रचारप्रसार सुरु भइसकेको बताए । उनले भने– “हाम्रो समस्या, भावना र मर्म माओवादी केन्द्रले बुझ्छ भन्ने मनोवैज्ञानिक प्रभाव मतदातामा देखिएकाले हाम्रा लागि यस प्रदेशमा उत्साहजनक माहोल छ ।”

 

क्रमशः बिर्संदै बाढीपहिराको दुःख

बाढीपहिराको पीडा खेप्नु परे पनि स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनप्रति मतदाता सकारात्मक र उत्सुक देखिएकाले बिस्तारै निर्वाचनको वातावरण बन्दै गएको प्रतिक्रिया समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दिएका छन् । मुलुकभर एकै पटक निर्वाचन गर्नुपर्नेमा २ नं. प्रदेशमा तेस्रो चरणमा पुर्‍याइएको प्रति भने मतदाताको असन्तुष्टि रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.