अवकास प्राप्त लाहुरेको लोभलाग्दो कृषि कर्म !

लाहुरमा १७ बर्ष चुहाएको पसिनाको ब्याज खादै घमाइला दिनहरु चैनले कटाउन सक्थे, देबकुमार राई । आफ्ना ‘यार’ खोज्दै धरान वा पोखराका रंगीन माहोलमा मिसिन पनि सक्थे । लाहुरमा कसरी बैंशालु दिनहरु बिताइयो भनेर दौतरीसँग गफिदै बाँकी समयहरु गुजार्न सक्थे । अथवा ‘सुखको खोजीमा’ फेरि बेलायततिरै बरालिन सक्थे ।

 

तर, यी अवकास प्राप्त ब्रिटिश लाहुरे एकलासे लेकतिर उक्लिए । इलामको उत्तरी माइपतालमा दुई सय रोपनी जग्गा किने । अनि, भएभरका जडीबुटी बटुलेर रोप्न थाले । चिराइतो रोपे, लौठ सल्ला रोपे, सतुवा रोपे, सिताके च्याउ रोपे, किवी रोपे । त्यतीले मात्र कहाँ पुग्छ ?

 

त्यस भूगोलमा नपाइने फ्रेन्च पियर्स,  चेरी, ओखर पनि रोपे । गाई र्फम खोले । एग्रो रिसोर्टका लागि पुरानो घर मर्मत गरे । अब, त्यस माथिको आकासमा प्याराग्लाइडिङ उडाउने तम्तयारी गर्दैछन् । कञ्चनजंगा आधार शिविरलाई गन्तव्य बनाएर त्यहींबाट गोरुवाले, छिन्तापु, सन्तकपुरसम्मको पैदल मार्ग बनाउँदैछन् ।

 

उनले सोचेजस्तै सबैकुरा ठीकठाक भइदियो भने, त्यो एकलासे ठाँउ कृषि पर्यटनको नयाँ गन्तव्य बन्नेछ । देशी-विदेशी जिज्ञासुहरु आउनेछन् । औषधिय खेती प्रणालीका बारेमा जानकारी लिनेछन्, अध्ययन गर्नेछन् । त्यही माटोमा फलेको झ्याले आलु, सिताके च्याउ, चिम्फिङको अचारको रैथाने स्वाद लिदै आगन्तुकहरु २८ सय मिटर उचाईमाथि पाराग्लाइडिङ गर्नेछन् ।

 

यतिले मात्र उनको तिर्सना कहाँ मेटिन्छ र ? दुर्लभ प्रजातिका वनस्पतीकोे नर्सरी राख्ने, कृषिका लागि आधुनिक यन्त्रहरु ल्याउने, आसपासका खेती किसानीलाई एकमुष्ठ बनाएर व्यवसायिक खेतीमा प्रेरित गर्ने उनीसँग केहि ‘आइडिया’ छन् । यसैका लागि अहिले यि लाहुरे दत्तचित्त छन् । भीआर बाइक हुँइक्याउँदै कहिले माइपतालको लेकतिर उक्लन्छन्, कहिले साखेजुङको अलैंची नर्समा सिंचाइ गर्न पुग्छन् ।

 

इलाम बजारको पुच्छरमा उनको रेष्टुरेन्ट छ, रैथाने फ्लेबरको । यसलाई उनी ‘अग्र्यानिक रेष्टुरेन्ट’ भन्छन् । लेकतिर उत्पादन गरेको खानेकुरा रेष्टुरेन्टका ग्राहकलाई चखाउँन पाउँदा उनी मख्ख पर्छन् ।

 

पत्नी वियोगको अदृश्य घाउ

 

माईपतालका अनन्त कान्लाहरुमा उनले लौठ सल्ला रोपेका छन्, सिताके च्याउ रोपेका छन् । यि दुबै क्यान्सर प्रतिरोधी मानिन्छ । केलाउँदै जाँदा अरु पनि यस्तै औषधीय गुणका वनस्पती फेला पर्छ । लाग्छ, कतै पत्नी वियोगको अदृश्य घाउले पो उनलाई यस्तो खेती किसानी गर्न उक्साएको हो कि ?

 

किनभने उनकी पत्नी रक्त क्यान्सरले थलिए, जतिबेला उनी लाहुरे दैनिकीलाई बिट मारेर गृहस्थी जीवनमा रमाउने तरखर गर्दै थिए । ‘भर्खरै रिटायर्ड भएको थिएँ, बुढीलाई रोगले च्याप्यो’ उनी केहि भावुक भए, ‘उपचारको लागि बैंग्लोर पुर्‍याएँ । अनेक गरें । तर, केहि लागेन ।’
आखिर ‘चालिस कटेसी रमाउने’ रहर, रहरमै थाँती रह्यो ।

 

पत्नीले छाडिन्, दुईवटा कलिलो छोरा जिम्मा लगाएर । एउटा छोरो १३ बर्षको थियो, अर्को ८ बर्षको । दुबैलाई दार्जिलिङको एक बिद्यालयमा भर्ना गरिदिए ।

 

उनी, पूख्र्यौली घर इलाम फर्किए । तर, आमाको ममता गुमाएका छोराहरु बावुको साथ नछाड्ने । ‘हप्ता दिन हुन नपाई बोलाउने । म त्यहाँ जान पाइन भने उनीहरु रुन्थे, बिरामी हुन्थे’ देबकुमार सम्झन्छन्, ‘आमा नभएकाले उनीहरुलाई न्यास्रो लाग्दो हो ।’ त्यही भएर दुबै छोरालाई इलाममा ल्याए र यतै पढाउन थाले ।

 

हातपाउ गल्दै गएको, आँखा धमिलो हुँदै गएको, शरीर कुपि्रदै गएको पाको आमाबुवालाई पनि स्यहार पुग्ने भो । बाँकी जीवन इलामकै सेरोफेरोमा बिताउने निधो गरे ।

 

अब छोराहरुको गोठालो लाग्नकै लागि पनि उनी सदारमुकाम बस्नुपर्ने भयो । एउटा घर किने । घरमा मात्रै धुमधुम्ती के बस्नु ? लाहुरमा कहिले परेड खेलेर त कहिले युद्ध-अभ्यास गरेर बसेका देबकुमार घारको सानो परिधीभित्र गुम्सिए । उनको हत्केला चिलायो । लाग्यो, ‘केहि न केहि त गर्नैपर्छ ।’

 

अन्ततः आफू बसेको घरलाई ‘अग्र्यानिक रेष्टुरेन्ट’को रुप दिए । यतिले मात्र पुगेन, पूख्र्यौली थलो साखेजुङमा बेपत्तासँग खेती गर्न थाले । चार लाख बिरुवा बेच्नेगरी अलैंचीको नर्सरी राखे । माइपतालको खर्क र जंगल किनेर औषधिय बनस्पतीको खेती गर्न थाले । हितैषीहरुले उडाए, ‘होइन बहुलाउन लागिस् कि क्या हो, बजारतिर घर-घडेरी नजोडेर त्यो लेकको पाखामा किन पैसा खन्याएको ?’

 

लेकको पाखोमा सुन फल्छ

 

लाहुरे बनेर उनले ३० वटा देशको माटो टेकेका छन् । कतै मरुभूमी नै मरुभूमिको साम्रज्य छ, कतै हिँउ नै हिँउको थुप्रो छ । तर, तिनै देशहरुले नेपाललाई अनुदान दिन्छ । जबकि, यी लाहुरेको आँखाले नेपालजस्तो उर्बर देश सायदै देखे ।

 

‘यहाँ के छैन हौ’ उनी पूर्वेली टोनमा बोले, ‘त्यती मलिलो माटो छ, पानीको मुहान छ । जता टेक्यो, त्यतै जडिबुटी छ । हामीले त माल पाएर चाल नपाएको पो त ।’

 

माइपतालको खर्कमा होस् वा साखेजुङको थुम्काहरुमा, उनी ‘जे रोप्यो त्यही फल्ने’ देख्छन् । विश्वमै नभएका कति बनस्पती यहिं छ । विश्वले नचिनेका कति जडिबुटी यहिं छ । तर, त्यसको व्यवस्थित र व्यवसायिक खेती हुन नसकेको उनको ठम्याइ छ ।

 

रुखो पाखो देखेर त्यतीकै छाडेको माइपतालको खर्कमा अहिले किव लटरम्म फलेको छ, सिताके च्याउ उमि्रएको छ, चिराइतो लहलह भएको छ । बिज्ञहरुले उनलाई भनेका छन्, ‘चिलहरु उड्ने यो आकासमा ८६ किसिमको त हावा चल्छ ।’ यसैको एकछेउमा माइपोखरी छ, जो पानीको अथाह स्रोत हो । जैविक विविधताको भण्डार पनि । अर्कोतिर टोड्के झरना छ । यो जिल्लाकै सर्बाधिक अग्लो झरना हो । उत्तरतिर सन्तकपुर छ । दार्जिलिङको यो सीमावर्ती बजार बाह्रैमास पर्यटकले भरिभराउ हुन्छ । नजिकै छिन्तापु छ । जहाँ थरीथरीका गुराँस फुल्छ । ३६ सय ३६ मिटर माथिको त्यो भूगोल रेड पान्डाको आश्रयस्थल पनि हो ।

 

‘यति गजबको ठाँउ छाडेर हाम्रा दाजुभाई खाडीको मरुभूमीमा पसिना बेच्दैछ’ देबकुमार जोस्सिए, ‘होइन, हामी कहाँ गरिब छौ र ? हाम्रो चेत पो नखुलेको ।’

 

गाँउमा काम गर्ने ‘मेडिकल फेल’ मात्र

 

उनले खोजी टकटक्याएर लगानी गरेका छन्, खेतीपातीमा । जताततै सम्भावना पनि देखेका छन् । आफ्नो खेतीको आर्जनले आफ्नो मात्र होइन, गाँउकै मुहार उजिल्याउने सपना पनि पालेका छन् । तर, काम गर्ने मान्छे भए पो ?

 

कृषि सम्बन्धी अध्ययन गरेका चार जना युवा खाफ्नो खेतीमा खटाएका छन् । अरु २० जना कामदार छन् । तर, उनको खेतीपातीमा अझै कामदारको अभाव छ । उनी विस्मत् भावमा भन्छन्, ‘साला, गाँउमा काम गर्ने मान्छे नै छैन हौ ।’

 

पाखुरीमा बल हुने र निरोगी जति सबै खाडीतिर लागेको उनको ठम्याइ छ । ‘ताकत भएकाहरु सबै बिदेश गए, मेडिकल फेल भएर बिदेश जान नपाएकाहरु मात्र गाँउमा छन्’ देबकुमार थप्छन्, ‘कसैलाई जन्डिज, कसैलाई के ।’

 

बैंकलाई गाँउको २ सय रोपनी भन्दा बजारको चार आना जग्गा ठूलो

कृषि कर्म थालेपछि उनले के पनि बुझे भने, आफुले पो लाहुरमा पैसा कमाएका थियो, लगानी गरिाये । तर, गाँउलेहरुसँग चाहेर पनि व्यवसायिक खेतीपाती गर्न लगानीको अभाव छ । बैंकबाट ‘कृषि कर्जा’ लिनै गाह्रो । गाँउमा जतिसुकै बारी भएपनि बैंकले नपत्याउने । ‘खेतीका लागि ५० लाख रुपैयाँ ऋण लिन गएको, कम्ता गाह्रो भएन’ उनले तितो पोखे, ‘गाँउको अढाई सय रोपनी जग्गाको तुलनामा चार आना भन्दा पनि कम जग्गामा बनेको यो घर (बजारको घर) को मूल्यांकन बढी रहेछ ।’

 

बैंकहरुले खेती किसानी गर्नेका लागि सहज रुपले उचित ऋण प्रवाह नगरेकाले पनि धेरै युवाले आफ्नो थातथलो छाडेको उनको बुझाई छ । ‘गाँउमा खेती गर्छु भन्दा बैंकले ऋण पत्याउँदैन, बिदेश जान्छु भन्दा साहुले सयकडा पाँच रुपैयाँले भकाभक पैसा दिन्छ’ देवकुमार भन्छन् ‘अनि आफ्नो मलिलो बारी छाडेर खाडी जानु परेन त ?’

 

कृषिर् औजार, यन्त्रहरु लिने कुरामा पनि यस्तै झन्झट व्यहोरेका छन्, उनले । ‘प्रक्रियागत हिसाबले राम्रो काम गर्छु भन्दा जताततै अप्ठ्यारै अप्ठ्यार छन्’ उनी भन्छन् । यद्यपी यही अप्ठ्यारासँग पैठेजोरी खेल्दै उनी कृषि कर्ममा रमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.