कपन र कीर्तिपुरमा टेलिफोनको नयाँ प्रविधि जडान

कीर्तिपुर,२ भदौ / नेपाल टेलिकमले कपन र कीर्तिपुर क्षेत्रका टेलिफोन लाइनमा नयाँ प्रविधि (आइपी बेस्ड) जडान गरेको छ । टेलिकमले ल्याण्डलाइन टेलिफोन लाइनको पुरानो (टीडिएम) प्रविधिका स्वीचिङ उपकरणको स्थानमा नयाँ आइपी बेस्ड प्रविधिका उपकरण जडान गरेको हो ।

 

कीर्तिपुरका ५ हजार ८ सय २३ तथा कपनका ६ हजार ५ सय ३३ टेलिफोन लाइनमा यो प्रविधिका उपकरण जडान गरिएको टेलिकमले जनाएको छ । आइपी बेस्ड प्रविधिका उपकरण जडानबाट पुरानो प्रविधि प्रतिस्थापन भएपछि ल्याण्डलाइन टेलिफोन र डाटा सेवाको गुणस्तरमा सुधार हुने टेलिकमको दाबी छ ।

 

नयाँ प्रविधि जडानपछि ग्राहकले माग अनुसार एडिएसएल टेलिफोनको लाइन प्राप्त गर्न सक्नुका साथै आइपिटिभी, भिडियो अन डिमाण्डलगायतका सेवा लिन मद्दत पुग्नेछ । यसअघि टेलिकमले ललितपुरको ग्वार्को क्षेत्रका ४ हजार २ सय २६ लाइनमा आइपी बेस्ड प्रविधि जडान गरेको थियो । अबको २ महिनाभित्रमा देशभर १ लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनमा यो प्रविधि जडान गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.