दुर्घटना बढाउनेगरी सडकैभरी विज्ञापन राख्न अनुमति, हामीसँग सल्लाह नै गरिएनः ट्राफिक प्रहरी |

काठमाडौंः रातिको समयमा राजधानीको सडकहरुमा दुर्घटना बढाउने गरी काठमाडौं महानगरपालिकाले पोलहरुमा डिजिटल विज्ञापन बोर्डहरु राख्न अनुमति दिएको छ ।

राजश्व बढाउने नाममा महानगरपालिकाले एक निजी कम्पनीलाई विना मापदण्ड यस्ता विज्ञापनहरु राख्न अनुमति दिएको हो । महानगरपालिका कार्यालयकै कर्मचारीहरुले आर्थिक प्रलोभनमा महंगो दररेट कायम गरी बिके ट्रेडर्स नामक कम्पनीलाई एक हजार २८५ वटा पोलहरुमा सौर्यबत्ति जडान र विज्ञापन राख्न अनुमति दिएको हो । सौर्यबत्तिको आयु पाँच बर्ष मात्रै हुने भए पनि यसअघिको भन्दा दोब्बर बढीको मूल्यांकन गरी दिइएको ठेक्कामा ठेकेदारलाई आफूखुशी पोलहरुमा विज्ञापन राख्न अनुमति दिइएको हो ।

 

त्यसरी विज्ञापन राखेवापत बिके ट्रेडर्सले प्रतिपोल महानगरलाई बर्षको सात हजार दुईसय र भाडावापत आठ हजार पाँचसय गरी १५ हजार सातसय बुझाए पुग्छ । केही राजश्व बढाउने नाममा महानगरका सडकहरुमा भिज्युअल पोलुशन (दृश्य प्रदुषण) बढाउने र सहरलाई कुरुप बनाउने गरी विज्ञापन राख्न नदिन आग्रह गर्दागर्दै महानगरका केही व्यक्तिहरुको मिलेमतोमा यस्तो अनुमति दिएको महानगरका एक कर्मचारीले बताए । उनले भने, ‘सडकको दायाँ बायाँ पोलहरुमा विज्ञापनै विज्ञापन राख्न दिने कुराले यात्रुहरुलाई इरिटेड (रिस उठाउने) र उनीहरुको ध्यान डिस्ट्याक (भंग)गर्नेगरी जथाभावी विज्ञापन राख्न नदिउँ भन्दा पनि यहाँका केही व्यक्तिहरुको सिण्डिकेटले गर्दा दिइयो ।

 

यसले भोलि ठूलो समस्या सिर्जना गर्ने देखिन्छ ।’ यसअघि महानगर तथा सडक विभागले प्रतिपोल एक लाख पाँच हजारमा सौर्यबत्ति जडान गर्न अनुमति दिएकोमा हाल त्यसलाई सतप्रतिशत भन्दा बढि मूल्यांकन गरी प्रतिपोल दुई लाख ७० हजार रुपियाँमा ठेक्का दिएर ठूलो आर्थिक चलखेल गर्ने काम भएको महानगरपालिकाका असन्तुष्ट कर्मचारीहरुको गुनासो छ । सौर्य प्यानलको भाउ अन्तर्राष्ट्रिय बजारमा निकै सस्तिएको बेला यति धेरै मूल्यांकनमा ठेक्का दिनु जरुरी नरहेको उनीहरुको भनाई छ । व्यापारिक केन्द्र र राजमार्गका निश्चित ठाउँहरुमा चालकहरुका ध्यान डिष्ट्रयाक् नगर्ने खालका विज्ञापनहरु राख्न सकिने भए पनि राजधानीकै मुटु हरियाली बढाउन छोडेर विज्ञापनका बोर्डहरु राख्न हतारिने काम भएको कर्मचारीहरुको भनाई छ । महानगरकै सार्वजनिक निजी साझेदारीका परियोजना हेर्ने एक वरिष्ठ कर्मचारी सुमन अधिकारीले दुर्घटना बढने नबढने कुरा भोलिका दिनमा अध्ययन अनुसन्धान गरेर हेर्नुपर्ने तर्क गरे ।

 

उनले भने, ‘अहिले नै दुर्घटना बढ्छ बढ्दैन कसरी भन्न सकिन्छ र ? तपाईंहरुले, ट्राफिक प्रहरीले भालिका दिनमा अध्ययन अनुसन्धान गर्ने विषय हो ।’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले आफूहरुसँग कुनै परामर्श नगरी विज्ञापन राख्न महानगरले अनुमति दिएको भन्दै यसमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले यस्ता विज्ञापनहरुले भालिका दिनमा दुर्घटना बढाउने काम भयो भने सबै हटाउन लगाउने पनि बताए । सोर्यबत्ति जडान गर्दा यसको गुणस्तर जाँच गर्ने निकाय नवीकरणीय उर्जा परीक्षण स्टेशन (रेट्स)बाट परीक्षण गर्नुपर्ने भए पनि कुनै परीक्षण भएको छैन । महानगरले ठेक्का स्वीकृत गरेपछि यस्को कुनै परीक्षण जरुरी नरहेको बिके ट्रेडर्सका सञ्चालक रोशन चौधरीको दावी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.