दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु : कार्यकारी निर्देशक घिसिङ

नेपाल विद्युत्‌ प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ठूलो चुनौती स्वीकारेर आएको बताएका छन् ।प्राधिकरणमा बुधबार कार्यभार सम्हाल्ने क्रममा कार्यकारी निर्देशक घिसिङले फेरि एकपटक ‘रिस्क’ लिएको बताएका हुन् ।

दोस्रो कार्यकाल ठूलो चुनौती स्वीकारेर आएको छु । यो भन्दा ठूलो चुनौती व्यक्तिगत जीवनमा अरु छैन । प्राधिकरणको आवश्यकता र सरकारले जिम्मेवारी दिने कुरा आयो र आम जनमानसमा प्राधिकरणमा एकचोटी आउनुपर्‍यो भनेर मैले फेरि ‘रिस्क’ लिएको छु,’ उनले भने ।

प्राधिकरणको चुनौती एक्लैले मोल्न सक्ने अवस्था नरहेको भन्दै घिसिङले टिमवर्कमा जोखिम मोल्नु पर्नेमा जोड दिए । अबका दिनमा अगाडि कसरी बढ्ने, प्राधिकरणको हाइट कसरी माथि लाने भन्ने कुरामा केन्द्रित हुने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

आफू के-के न गर्ने योजनासहित नआएको भन्दै उनले सुशासन र गुणस्तरीय सेवा प्रवाह प्रमुख रुपमा अगाडि लैजाने, सरकारले उर्जा क्षेत्रमा दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । नेपाल विद्युत्‌ प्राधिकरणको चर्चा विश्वमै रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले उपलब्धिको श्रेय आफूहरुले मात्रै नलिने बताए । ‘नेपाल विद्युत् प्राधिकरण विश्वमै चिनिएको छ । सरकारमा को आयो भन्दा पनि विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशक को हुनु पर्छ भन्ने चर्चा हुने गरेको छ । यो प्राधिकरणको उपलब्धि हो । यो मैले मात्रै क्रेडिट लिने होइन । टिमकै उपलब्धि हो ।’

अघिल्लो कार्यकालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र वर्तमान अर्थमन्त्री जनार्दन शर्मा उर्जा मन्त्रालयको जिम्मेवारीमा भएको बेला कार्यभार सम्हालेको स्मरण गर्दै उनले अहिले पनि संयोगले सोही दल र नेपाली कांग्रेस लगायतको गठबन्धन सरकारको पालामा आफूले जिम्मेवारी पाउनु संयोग भएको टिप्पणी गरे । कार्यकारी निर्देशक घिसिङले सरकार, सम्पूर्ण राजनीतिक दल, सहकर्मी, आम सर्वसाधारणको शुभेच्छालाई दोस्रो कार्यकाल आरम्भमा धन्यवादसमेत व्यक्त गरे ।

त्यस्तै तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अगाडि बढाएका राम्रा कामलाई निरन्तरता दिने र नराम्रोलाई सच्याउँदै अगाडि बढाउने उनले बताए ।

घिसिङले करिब ११ महिनापछि प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा बुधबार पदबहाली गरेका छन् । दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ। दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो ।

विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *