मोबाइल बजारमा दसैं अफर

काठमाडौं: दसैं मोबाइल बजार सुरु भएको छ। मोबाइल कम्पनीले दसैंलाई लक्ष्य गर्दै ग्राहकका लागि विभिन्न योजाना ल्याउनु स्वभाविकै हो। तर यहाँ मोबाइल बजारलाई दसैं लागेको छ। मोबाइल हबका रूपमा रहेका केही मोबाइल सेन्टरले ग्राहकलाई लक्ष्य गरी विभिन्न योजना सार्वजनिक गरिरहेका छन्। कतिपय सेन्टरमा मोबाइल मेला नै सुरु भएको छ।

 

सोमबार ललितपुर मोबाइल कम्प्लेक्सले पत्रकार सम्मेलन गरी यहीँ भदौ १६ गतेबाट मोबाइल एक्स्पो आयोजना हुने जानकारी गरायो। जहाँ ग्राहकलाई मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट दिने कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए।

 

त्यस्तै ताम्राकार मोबाइल कम्प्लेक्सले पनि सोमाबार विज्ञप्ती सार्वजनिक गरी दसैंअघि मोबाइल मेला आयोजना गर्ने जनाएको छ मेला भदौ २२ गतेबाट सुरु हुनेछ । ताम्राकार मोबाइल कम्प्लेक्सले पनि उक्त मेलामा ग्राहकलाई मोबाइल खरिदमा ६० प्रतिशतसम्म छुट दिने ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए।

 

विश्वज्योति मलमा फेस्टिभ कार्निभल नै सुरु भइसकेको छ। कार्निभल भदौ २० गतेसम्म चल्नेछ। उक्त कार्निभलमा पुराना मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने कार्निभलका संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए। त्यस्तै बिजी मलमा ‘मनसुन फेस्ट सेल’ सुरु भएको छ । १७ दिने उक्त सेल मेलामा ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

 

यस क्रममा मोबाइल बजारले नै यस्तो अफर ल्याउनु ग्राहकका लागि फाइदाको कुरा हो । ग्राहकले एकातिर कम्पनी आफैंले ल्याएका दसैं योजनामा सहभागी हुन पाउनेछन् भने अर्कोतर्फ यस्ता बजारले दिने योजनामा। ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष बस्नेतका अनुसार ग्राहकले यस्ता योजनाबाट रामै्र फाइदा लिन सक्नेछन्। एकैपटक दुवै योजनामा सहभागी हुँदा ग्राहक लाभान्वित हुने बस्नेत बताउँछन् । उनका अनुसार यस्ता योजनाले मोबाइल बजार उकास्न मद्धत गर्नेछ।

 

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा भदौ १६ गतेबाट मोबाइल एक्स्पो २०१७ हुँदैछ । दसैं तथा तिहारको अवसर पारेर कम्प्लेक्सले विभिन्न ब्रान्डका मोबाइल फोनको एक्स्पो आयोजना गर्ने भएको हो ।

 

मेला भदौ १६ गते सुरु भएर २६ गतेसम्म चल्नेछ । एक्स्पोमा ग्राहकले पाँचदेखि ७० प्रतिशतसम्म छुट पाउनेछन् । यसका साथै मोबाइल खरिदमा हात खाली नजाने विभिन्न उपहार योजना ल्याएको आयोजकले जनाएको छ । यसअन्तर्गत पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पिकर प्राप्त गर्न सक्नेछन् ।

 

न्यूनतम नौ सयदेखि एक लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका फोन उपलब्ध हुने मेलामा स्क्र्याच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाइक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायत मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध गराउनेछ ।

ताम्राकारमा उपहार नै उपहार
काठमाडौंको न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले भदौ २२ गतेबाट मोबाइल मेला आयोजना गर्ने भएको छ । कम्प्लेक्सले यसै अवसरलाई मध्यनजर गर्दै ‘दसैंतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सार्वजनिक गरेको छ । उक्त मोबाइल मेलामा पाँचदेखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताइएको छ ।

 

सामसङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डीटीसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइने उनले बताए । एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथ हुवावेको ट्याब किन्दा एउटा मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।

 

ताम्राकार मोबाइल बजारमा न्यूनतम नौ सयदेखि एक लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका मोबाइल सेट उपलब्ध छन् । उक्त अवसरमा मोबाइल खरिद गरी ग्राहकले मोटरसाइकल, टीभी, स्मार्ट फोन तथा दैनिक रूपमा टीभी, मोबाइल र पावर बैंकलगायत क्यास ब्याकसहितका उपहार पाउनेछन् ।

बिजी मलमा ‘मनसुन फेस्ट सेल’
बिजी मलमा ‘मनसुन फेस्ट सेल’ सुरु भएको छ । गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे मलमा १७ दिने सेल मेला सुरु भएको हो । मेला अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

विश्वज्योति मलमा फेस्टिभ कार्निभल
विश्वज्योति मल जमलमा फेस्टिभ कार्निभल भइरहेको छ । कार्निभल अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने ग्राहकले ५० प्रतिशतसम्म छुट पाउनेछन् । भदौ २० गतेसम्म चल्ने कार्निभलमा ग्राहकले पुराना मोबाइलसँग नयाँ मोबाइल साट्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.