सिनेकर्मी र समीक्षकबीच व्यर्थको द्वन्द्व

एक निर्माताले करिब ६ महिनाअघि आफ्ना निर्देशक–निर्माता साथीहरूसँगको जमघटको भिडियो देखाए । भिडियोमा रक्सीले मातेका एक निर्माता आफ्नो सिनेमालाई ‘कम रेटिङ’ दिने एक साप्ताहिक पत्रिकाका सिनेमा समीक्षकमाथि तथानाम गाली फलाकिरहेका थिए । उनले त्यहाँ उपस्थित अर्का निर्देशक साथीलाई ‘दाइको सिनेमाले यति रेटिङ पाउँदा यति करोड कमायो र मेरोले यति कमायो’ भन्दै समीक्षकलाई गाली गरिरहे । यस्तै, सोही हलमा व्यापारिक रूपमा राम्रै कमाइ गरिरहेको एक सिनेमा निर्देशकले दैनिक पत्रिकासम्बद्ध समीक्षकलाई कस्तो सिनेमा बनाएमा राम्रो हुने हो बनाएर देखाऊ भन्दै आफ्नो रिस पोखे । माथि उल्लेखित दृष्टान्तले नेपाली सिनेकर्मी र समीक्षकबीचको सम्बन्ध स्पष्ट पार्छ । एउटा सिनेमाबाट राम्रो समीक्षा पाउँदा दंग हुने सिनेकर्मी अर्को सिनेमामा उही समीक्षकबाट आलोचित हुँदा समीक्षकसँग झगडा गर्न पुग्छन् ।

 

नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)का उपाध्यक्ष दीपेन्द्र लामा नेपाली सिनेवृत्तमा देखिएको यो दृश्य सिनेकर्मीको ‘सिनेमा समीक्षा भनेको के हो ?’ भन्ने विषयमा रहेको अज्ञानताका कारण भएको ठान्छन् । ‘नेपाली सिनेकर्मी प्रशंसाका भोका छन्, उनीहरूमा आलोचना सुन्ने क्षमताको विकास नै भएको छैन, सकारात्मक प्रतिक्रिया मात्र सुन्न चाहन्छन् ।’ लामा नेपाली समाजमा रहेको मनोविज्ञानका कारण यस्तो प्रवृत्ति नेपाली सिने जगतमा पनि देखिएको बताउँछन्, ‘यहाँ नजिकका मानिसलाई पुल्पुल्याउने परिपाटी छ । साथीको नराम्रो कामलाई पनि चित्त बुझाउन राम्रो भनिदिने बानी छ । जसले गर्दा उनीहरू समीक्षाको व्यवसायिकतालाई नजरअन्दाज गर्छन् भने आफ्नो कमजोरीलाई हम्मेसी स्वीकार्न चाहँदैनन् ।’

 

लामाको यस भनाइमा निर्देशक उज्ज्वल घिमिरे आलोचनात्मक समर्थन गर्छन्, ‘कुनै पनि सिनेकर्मीलाई आफ्नो सिर्जना कमजोर लाग्दैन । कठिन परिस्थितिका बीच नेपाली सिनेमा दुःखैले बन्ने गर्छन् । त्यसैले कसैले नराम्रो भनिदिँदा सिनेकर्मी दुःखी हुन्छन् ।’ यससँगै घिमिरे नेपाली सिनेउद्योगमा एक– दुई जना बाहेक गतिला सिनेसमीक्षक नै नभएको जिकिर गर्छन्, ‘हाम्रा समीक्षक भनिएकाले सिनेमा लेखिरहेका छन् र बनाइरहेका पनि छन् । उनीहरूका सिनेमाको हैसियत हामीले देखेका छौँ । त्यसैले त्यस्ता समीक्षकले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा नहानेकै बेस ।’यस्तै, समीक्षक एवं स्क्रिपराइटर सामीप्यराज तिम्लसेना यस्तो हुनुमा सिनेकर्मी त्यसमा पनि विशेषगरी निर्माताहरूमा सिनेमाप्रतिको बुझाइमा कमी र सिनेमा संस्कारको अज्ञानताका कारण ठान्छन्, ‘हामीले बजारमा आइरहेका सबै सिनेमाको समीक्षा लेख्ने गरेका छैनौँ ।

 

समीक्षक भनिएकाले सिनेमा लेखिरहेका छन् र बनाइरहेका पनि छन्। सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हानिरहेका छन्।

 

तिनै सिनेमामाथि धेरै समीक्षा लेखिन्छन्, जसले केही राम्रो गर्छन् भनेर सोचिएको हुन्छ ।’ उनी थप्छन्, ‘हामी समीक्षा गर्दा सिनेकर्मीले आफूलाई सुधार गरून् भन्ने ध्येयले लेख्छौँ, तर स्वस्थ नियतलाई बुझ्दैनन्, अनि टकराव हुन्छ ।’तिमल्सेनाले यस्तो विचार राखे पनि अभिनेता एवं निर्माता भुवन केसी समीक्षकहरूले सिनेमामाथि गलत आशय राखेको आरोप लगाउँछन्, ‘सबैमा यो प्रवृत्ति छ भनेर म भन्दिनँ । हामीकहाँ एउटा फर्मुलामा आधारित सिनेमा बन्छन् भने अर्कोमा अफबिट सिनेमा । कमर्सियल सिनेमामाथि उहाँहरूले अफबिटका विशेषता खोजेर गाली गर्नुहुन्छ । हाम्रो आपत्ति त्यसमा हो ।’युवा पुस्तामा सेलेब्रेटी निर्देशकको छवि बनाएका निश्चल बस्नेतको भनाइ पनि केसीको जस्तै छ । ‘अहिले पनि नेपाली सिनेमाको अवस्था संघर्षको चरणमै छ । त्यसैले, समीक्षकहरू नेपाली सिनेमाप्रति अलि सकारात्मक हुनुपर्छ भन्ने मलाई लाग्छ ।

 

निर्देशकले एउटा सोचले सिनेमा बनाउँछ र त्यो कतिपय अवस्थामा ठाउँमा पर्छ, कहिले पर्दैन । त्यसमा हामीलाई निरास बनाउनेभन्दा पनि ऊर्जा दिने होस् भन्ने हाम्रो चाहना हो ।’ यस्तै, उनले आगामी तीन–चार वर्ष मिडियाले सिनेमाको समीक्षा लेख्दा सिनेमालाई सहयोग पुर्‍याउने गरी लेख्नुपर्ने बताउँछन् । भन्छन्, ‘समीक्षा भनेको समीक्षकको विचार हो, तर यहाँ त्यसबाट व्यक्तिगत इवि साध्ने परिपाटी हामीकहाँ देखिएको छ, जुन घातक हो । ’धेरै सिनेकर्मीले नराम्रो समीक्षाले आफ्नो व्यापार प्रभावित हुने सोच राख्छन् । हालै ‘प्रेम गीत २’का निर्माताले आफ्नो करोडौंको मिहिनेतलाई समीक्षकहरूले चर्को ढंगले नकारात्मक टिप्पणी गरेकोमा दुःखेसो पोखे, ‘राम्रो कुरा केही देख्नु भएनछ, किन देख्नु भएन म अचम्ममा छु ।’ उनले आफ्नो सिनेमालाई पत्तासाफ गर्न केही समूह लागेको र सिनेमाको नकारात्मक समीक्षा आउने थाहा पाएपछि गर्ने भनिएको सिनेमाको प्रिमियर नै नगरेको आरोपसमेत लगाए । निर्माताहरू आफ्नो कमजोरी स्वीकार्नै नचाहने तिमल्सेना बताउँछन् ।

 

राम्रो समीक्षा पढ्न पाउँदा मक्ख पर्ने निर्माता, नराम्रो समीक्षा पाउँदा हाम्रा समीक्षक दर्शक हुन् भनेर मनको तुष पोख्छन् । जबकि, समीक्षाले सिनेमाको व्यापारलाई थोरै मात्र प्रभाव पार्छ । लामा भन्छन्, ‘नेपालमा मात्र होइन, हलिउड तथा बलिउडमा पनि समीक्षकहरूले नराम्रो भनेका सिनेमाले बक्स अफिसमा चर्को कमाइ गरेका छन् । नेपाली सिनेकर्मीले सिनेमा नचल्नुको दोष समीक्षालाई दिनुमा कुनै सत्यता छैन ।’ यस्तै, निर्देशक नवीन सुब्बा नेपाली सिनेमाकर्मीमा सिनेमा बनाउनु र समीक्षा गर्नुमा फरक छ भन्ने बुझाइ नै नरहेको बताउँछन्, ‘सिनेकर्मीमा आफूले महान् काम गरिरहेको छु भन्ने भ्रम छ । उनीहरू सिनेमा समीक्षाले सिनेमा सुधारका लागि नै काम गर्छ भन्ने बुझ्दैनन् ।’

 

करिश्मा मानन्धरले निर्माण गरेको ‘ढुकढुकी’ सिनेमाको समीक्षा लेख्दा मानन्धरका पतिले फोनमा ‘मैले जानेको छु’ भनेर धम्काएका थिए।

 

यस्तै, उनले समीक्षकहरूले राम्रै काम गरिरहेको आफूले पाएको बताउँछन् । सुब्बाका अनुसार नेपाली समीक्षक कसैको सिनेमा बिगार्ने काममा उत्पे्ररित छैनन् । समीक्षकको दायित्व आफ्नो पाठकप्रति हुन्छ । त्यसमा उसले गलत गर्‍यो भने ऊ आफ्नो पाठकबाट अस्वीकृत हुन्छ । केही अपवाद पनि छन् । समीक्षा लेखेकै कारण समीक्षकहरूले धम्कीसमेत खेप्ने गरेका उदाहरण छन् । लामाले आफ्ना दुइटा व्यक्तिगत अनुभव सुनाए । अभिनेत्री करिश्मा मानन्धरले पहिलो पटक निर्माण गरेको ‘ढुकढुकी’ सिनेमाको समीक्षा लेख्दा मानन्धरका पतिले फोनमा ‘मैले जानेको छु’ भनेर धम्काएको र अर्का अभिनेता भुवन केसीको ‘सुपरस्टार’ हिन्दी सिनेमा ‘रंगीला’को हुबहु कपी रहेको भनी लेख्दा केसी सम्पादकको कोठासम्म आफूलाई ठीक पार्ने उद्देश्यले पुगेको सम्झन्छन् ।

 

यस्तै, रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’को समीक्षा लेखेपछि गुरुङले केही सिनेमा समीक्षकलाई आफ्नो फेसबुक फ्रेन्डबाटै हटाइदिए । लामा सिनेकर्मीले समीक्षाबारे आफूलाई अभ्यस्त बनाउनुपर्ने बेला आइसकेको बताउँछन्, ‘पहिले सिनेमा कम बन्थे । बन्नु नै उपलब्धि हुन्थ्यो, अहिले सयभन्दा बढी सिनेमा बन्छन् र रिलिज हुन्छन् । यस्तो सिनेमाको गुणस्तर सुधारका लागि पनि समीक्षा महत्वपूर्ण भइसकेको छ । यसले उद्योगको हित नै गर्छ ।’

 

के खोज्छन् नेपाली समीक्षक ?

नेपाली सिनेमा निर्माणको पूर्वाद्धदेखि नै बलिउड फर्मुला शैलीबाट अत्यधिक प्रभावित रहँदै आएको छ । लामाका अनुसार नेपाली समीक्षकको ध्येय भनेको विदेशीले नेपाली सिनेमा हेर्दा नेपाली हो भनेर सजिलै छुट्याउन सकून् भन्ने हो । त्यसका लागि नेपाली समीक्षकले सिनेमामा नयाँ के छ खोज्छन् ? बनाइएको सिनेमा कत्तिको मौलिक छ वा कुनै कथाबाट चोरिएको छ/छैन ? त्यसैगरी सिनेमाको पटकथा, संवाद, कलाकारको अभिनय र प्रस्तुतिको सन्तुलनलगायत कुरामा नजर लगाउने गरेका छन् ।

 

यस्तै, सुब्बाका अनुसार नेपाली समीक्षकले कथावस्तु र प्राविधिक पक्ष हेर्ने गरेका छन् । समीक्षक त्यसमा अल्झिन नहुने उनको सुझाव छ, ‘समीक्षकले आफूलाई अझ बढी एक्सप्लोर गर्न जरुरी छ । समीक्षक भएपछि सिनेकर्मीभन्दा बढी सिनेमालाई बुझ्नुपर्छ । पछिल्लो समयका नेपाली सिनेमा समीक्षकमा त्यो प्रवृति विकास भइरहेको छ ।’ उनले कति समीक्षकमा कुनै पनि सिनेमा कस्तो बन्यो भन्दा पनि कसरी बनाउनुपर्छ वा बनिनुपर्छ भन्छन् । उनीहरूले त्यसलाई छाड्दै सिनेमालाई बनाइएको परिदृश्यमा हेरिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.