सुनचाँदी सुरक्षणमा दिइने कर्जा असल कर्जाको सूचिबाट ‘आउट’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितो राखेर प्रवाह गर्ने कर्जालाई ‘असल कर्जा’को दर्जा दिनबाट पछि हटेको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा अघिल्लो बर्ष कायम रहेको उक्त प्रावधानलाई हटाएको हो ।

अघिल्लो बर्षको एकीकृत निर्देशनमा असल कर्जाको सूचिमा सुनचाँदी सुरक्षणमा गएका कर्जा, मुद्दती निक्षेप सुरक्षणमा गएका कर्जा र नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जालाई समावेश गरिएको थियो । अहिले सुनचाँदी सुरक्षणमा जाने कर्जालाई हटाएर मुद्दती निक्षेप सुरक्षणमा गएका कर्जा र नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जालाई मात्र त्यस्तो सूचिमा समावेश गर्न सकिने निर्देशन दिएको हो ।

अन्तराष्ट्रिय बजारअनुसार सुनको मूल्य घटबढ हुनसक्ने र सुनचाँदीले सम्पूर्ण कर्जाको सुरक्षण नगर्न सक्ने अवस्था भएकोले यो व्यवस्था हटाएको हो । सुन तथा सुनजन्य पदार्थलाई यसअघिसम्म सम्पत्ति सञ्चयको स्रोत मानिन्थ्यो । अहिले पनि त्यस्तो चलन कायम रहे पनि यसलाई आम्दानीको स्रोत बनाउने चलन अहिले चल्न थालेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य कम भएको बेलामा सुनचाँदी होल्ड गर्ने र बढेको बेला बेच्ने प्रवृत्ति पनि ठूला व्यवसायीहरुमा भित्रिएको छ । राष्ट्र बैंकको यस्तो निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाले पनि सुनचाँदीलाई सम्पत्ति सञ्चयको साधान नभएर व्यापारिक वस्तु मान्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.