जग्गापास गर्नेमा पहिलो बन्यो महाभारत गाउँपालिका

काभ्रे । स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको केन्द्रबाट नै जग्गापास गर्नेमा जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिका पहिलो गाउँपालिका बनेको छ ।

 

स्थानीय सरकारलाई प्राप्त अधिकार अनुरुप पहिलो पटक महाभारतले गाउँपालिकाको केन्द्र देवीटारबाट गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गा पास गर्दै नयाँ रेकर्ड बनाएको हो । यससँगै गाउँपालिकाले अब कार्यालय निर्माणको काम अगाडि बढाउने भएको छ ।

 

गाउँपालिकाको कार्यालय निर्माणका लागि स्थानीय सुनबहादुर लामालगायतले १५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । जग्गाको मूल्य स्थानीय चलन चल्तीको मूल्यअनुसार ४५ लाख पर्छ । उक्त जग्गाको पास गाउँपालिकाको केन्द्रबाट गर्दै महाभारतले नयाँ रेकर्ड बनाएको हो । गाउँपालिका प्रमुख कान्छालाल जिम्बा ‘संसार’, मालपोत कार्यालयका काभ्रेका अधिकृत भोला घिमिरे, नापी सर्वेक्षक नवीन खत्रीलगायतका कर्मचारीहरुको उपस्थितिमा जग्गा पास भएको हो । बुधबार मात्रै जग्गापासका सबै प्रक्रिया सम्पन्न भएको छ ।

 

गाउँपालिकाको केन्द्रबाटै जग्गापास भएपछि गाउँपालिका प्रमुख जिम्बाले केन्द्रीय सरकारले स्थानीय सरकारलाई दिएको अधिकारको कार्यान्वयन स्थानीय स्तरमै हुने प्रतिबद्धता व्यक्त गरे । ‘स्थानीय केन्द्रबाटै जग्गापास गरेर हामीले संघीयताको व्यावहारिक कार्यान्वयनको थालनी गरेका छौँ, क्रमश अरु अधिकारलार्इ पनि स्थानीयस्तरबाटै कार्यान्वयनमा लैजाने योजना छ’ उनले भने ।
कार्यालय निर्माण भएसँगै स्थानीयलाई गाउँपालिकाबाट अन्य सेवा सुविधा प्रदान गर्ने गाउँपालिकाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.